वीरगञ्ज, साउन १६ — लगातार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा पर्सा प्रशासनले हटाएको छ। पछिल्लो समय सुरक्षा अवस्था सहज बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अन्त्य गरेको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार साउन १४ गते साँझदेखि लागू भएको निषेधाज्ञा शनिबारदेखि हटाइएको हो। वीरगञ्जमा प्रदर्शन र सम्भावित अशान्तिका गतिविधि नियन्त्रणमा आएपछि प्रतिबन्ध कायम राख्नुपर्ने अवस्था नरहेको उनले बताए।
यसअघि सिरहाको गोलबजार घटनालाई लिएर विभिन्न संघ–संस्थाले आन्दोलन चर्काएका थिए। तर, सरकार र पीडित परिवारबीच आठबुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित भएका छन्। मृतकको अन्त्येष्टि प्रक्रिया पनि सुरु भइसकेको छ।
आन्दोलन रोकिएसँगै वीरगञ्जको जनजीवन पुनः लयमा फर्किन थालेको छ। बजार, कलकारखाना, यातायात तथा अन्य व्यावसायिक गतिविधि नियमित रूपमा सञ्चालन हुन थालेका छन्। प्रशासनले नागरिकलाई शान्ति, सद्भाव र कानुनको पालना गर्दै सामान्य गतिविधिमा सहभागी हुन आग्रह गरेको छ।
वीरगञ्जमा निषेधाज्ञा हटाइयो
Leave a Comment
Leave a Comment

