ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० आरोहीको मृत्यु पुष्टि, प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जलि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन १६ — पाकिस्तानको काराकोरम पर्वत शृङ्खलास्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित १० जना आरोहीको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ।
‘निम्स दाइ फाउन्डेसन’ र ‘एलिट एक्सपिडिसन’ले शनिबार सामाजिक सञ्जालमार्फत दुर्घटनामा परेका सबै १० जना आरोहीको निधन भएको जानकारी दिएका हुन्। यसअघि चार जनाको शव फेला परेको भए पनि बाँकी छ जना बेपत्ता थिए।
दुर्घटनामा निर्मल पुर्जासहित छ नेपाली र चार विदेशी आरोहीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने नेपालीमा पुरबहादुर गुरुङ, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्। विदेशी आरोहीहरूमा पाकिस्तानका सोहेल शाखी, चीनका वाङ झोङ, ओमानकी नादिरा अहमद र अमेरिकाकी म्यालोरी गेइस रहेका छन्।
हिमपहिरोले आरोहीहरूलाई करिब ६ हजार मिटरभन्दा माथिबाट करिब ८०० मिटर तलसम्म बगाएको बताइएको छ। प्रतिकूल मौसमका कारण तत्काल उद्धार कार्य गर्न कठिनाइ भएको थियो। प्रतिनिधिसभा सदस्य तथा पुर्जाका व्यावसायिक सहकर्मी मिङ्मा ग्याबु (डेभिड) शेर्पा घटनापछि पाकिस्तान पुगेका छन्।
सन् २०१९ मा निर्मल पुर्जाले संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल छ महिना छ दिनभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले दुर्घटनामा ज्यान गुमाएका सबै आरोहीप्रति गहिरो श्रद्धाञ्जलि व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विश्व कीर्तिमानधारी आरोही निर्मल पुर्जासहित छ नेपाली र चार विदेशी आरोहीको निधनले आफू अत्यन्त स्तब्ध भएको बताएका छन्।
प्रधानमन्त्री शाहले हिमाल आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्दै दिवंगत आरोहीहरूको साहस र समर्पण इतिहासमा सधैँ अमर रहने विश्वास व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेका छन्।

Leave a Comment