पाकिस्तानमाथि रोमाञ्चक जित, इंग्ल्यान्ड विश्वकप सेमिफाइनलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन १३ — कप्तान ह्यारी ब्रुकको उत्कृष्ट शतकको मद्दतमा इंग्ल्यान्डले टी–२० विश्वकप क्रिकेटको सुपर एट चरणमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

१६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५ बल बाँकी रहँदै लक्ष्य पूरा गर्‍यो। ब्रुकले टी–२० अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक बनाउँदै टोलीको जितको आधार तयार पारे।

सुपर एटमा लगातार दोस्रो जित हात पार्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो। यसअघि इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले हराएको थियो।

यता लगातार दबाबमा परेको पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ। पाकिस्तान र श्रीलंकाबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।

क्यान्डीमा भएको खेलमा ब्रुकले १७ औं ओभरमा १०० रन पूरा गरे पनि त्यसलगत्तै शाहिन शाह अफ्रिदीको बलमा बोल्ड भए। त्यसपछि खेल केही समय रोमाञ्चक बनेको थियो।

१८ औं ओभरमा सलमान मिर्जाले किफायती बलिङ गर्दै मात्र ५ रन दिए भने १९ औं ओभरमा मोहम्मद नवाजले विल ज्याक्स र जेमी ओभरटनलाई आउट गरे।

तर अन्तिम ओभरमा ३ रन आवश्यक हुँदा जोफ्रा आर्चरले चौका प्रहार गर्दै इंग्ल्यान्डलाई रोमाञ्चक जित दिलाए।

Leave a Comment