विराटनगर, साउन ११ — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एक युवाको मृत्यु भएको छ भने प्रहरी र प्रदर्शनकारी गरी १६ जना घाइते भएका छन्। घटनापछि स्थानीय प्रशासनले सुनसरीको दक्षिणी क्षेत्रका पाँच बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि युवाहरूको एक समूह डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जान तयारी गरिरहेको थियो। त्यसक्रममा अर्को समूहले रातिको समयमा ठूलो आवाजमा डिजे बजाएर होहल्ला गरिएको भन्दै विरोध गरेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो। विवाद चर्किँदै गएपछि झडपमा परिणत भएको प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार र हवाई फायर गरेको थियो। त्यसबाट पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाइएको सुनसरी प्रहरीले जनाएको छ।
प्रहरीको गोली लागेर देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
घटनामा प्रदर्शनकारीतर्फ आठ जना घाइते भएका छन्। अधिकांशलाई गोली लागेको प्रहरीले जनाएको छ। उनीहरूको कोशी अस्पताल, विराट नर्सिङ होम तथा अन्य अस्पतालमा उपचार भइरहेको छ।
झडपमा प्रहरी निरीक्षक राकेश राई सहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये राईको टाउकोमा चोट लागेको छ भने अन्य प्रहरीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
झडपका क्रममा कप्तानगञ्ज बजारका घर, मेडिकल, सवारीसाधन तथा अन्य भौतिक संरचनामा तोडफोड र आगजनीसमेत भएको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षा अवस्था थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्र मा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
कर्फ्यु अवधिभर हिँडडुल, भेला, जुलुस, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञासमेत लागू गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले स्थानीयवासीलाई अफवाहमा विश्वास नगर्न, शान्ति कायम राख्न तथा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुनसरीको देवानगञ्जमा हिंसात्मक झडप : प्रहरीको गोली लागेर एक युवाको मृत्यु, पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
Leave a Comment
Leave a Comment

