बुधबार, माघ ७, २०८२
काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय व्यक्तिहरूको राजनीतिक उपस्थिती उल्लेख्य रूपमा बढेको छ। विभिन्न राजनीतिक दलबाट डेढ दर्जनभन्दा बढी उद्योगी–व्यवसायीले उम्मेदवारी दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन्।
यसपटकको निर्वाचनमा नेपालकै चर्चित उद्योगपति विनोद चौधरीदेखि पर्यटन, होटल, निर्माण, मेडिकल, ढुवानी, घरजग्गा तथा उत्पादनमूलक व्यवसायमा संलग्न व्यवसायीहरूले सक्रिय रूपमा उम्मेदवारी दिएका छन्। उनीहरूले मंगलबार आ–आफ्ना निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेसका तर्फबाट पश्चिम नवलपरासी–१ मा उद्योगपति विनोद चौधरीले दोस्रो पटक उम्मेदवारी दिएका छन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसकै तर्फबाट स्याङ्जा–१ मा भरतराज ढकाल, धादिङ–१ मा रमेश धमला र धादिङ–२ मा कृष्ण रिजालले उम्मेदवारी दर्ता गराएका छन्। ढकाल वित्तीय क्षेत्रसँग आबद्ध छन् भने धमला र रिजाल पर्यटन व्यवसायमा संलग्न रहेका छन्।
यस्तै कांग्रेसबाट मोरङ–३ मा मेडिकल व्यवसायी सुनील शर्माले पुनः उम्मेदवारी दिएका छन्। शर्मा यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। रुपन्देही–२ मा चुन्नप्रसाद शर्मा, गोरखा–१ मा प्रेम खत्री, सोलुखुम्बुमा कार्गो ढुवानी व्यवसायी प्रकाशसिंह कार्की र सुर्खेत–२ मा विष्णुबहादुर खड्का पनि कांग्रेसकै तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।
निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट उम्मेदवारी दर्ता गराएका छन्। उनी अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। नेकपा (एमाले) का तर्फबाट कपिलवस्तु–३ मा लुम्बिनी सुगर मिलका सञ्चालक वीरेन्द्रकुमार कनौडिया, मनाङमा पाल्देन छोपाङ र बारा–४ मा किसान श्रेष्ठले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौं–९ मा म्यानपावर व्यवसायी डीपी अर्याल, स्याङ्जा–१ मा पर्यटन व्यवसायी धनञ्जय रेग्मी, भक्तपुर–१ मा रुकेश रञ्जित र सुर्खेत–२ मा रमेश सापकोटा उम्मेदवार बनेका छन्। अर्याल २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद निर्वाचित भइसकेका व्यक्ति हुन्।
यस्तै उज्यालो पार्टीबाट काभ्रे–२ मा ज्योत्सना सैंजू, नेपाली कम्युनिस्ट पार्टीबाट डोल्पामा निर्माण व्यवसायी धनबहादुर बुढा तथा जनमत पार्टीबाट सिराहा–४ मा वीरेन्द्र महतोले उम्मेदवारी दर्ता गराएका छन्। बुढा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
राजनीतिमा उद्योगी–व्यवसायीको बढ्दो उपस्थितिलाई आर्थिक विकास, रोजगारी र लगानीमैत्री नीतिको अपेक्षासँग जोडेर हेरिएको छ। अब यी व्यवसायी उम्मेदवारहरू मतदाताको विश्वास जित्न कत्तिको सफल हुन्छन् भन्ने विषय फागुन २१ को मत परिणामले स्पष्ट गर्नेछ।

