काठमाडौं, फागुन १३ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार काठमाडौं र भक्तपुर बाहेक सबै जिल्लामा मतपत्रसहित आवश्यक निर्वाचन सामग्री ढुवानी गरिसकिएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने (एफपीटीपी) र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पठाइसकिएको छ।
काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने तयारी गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन सञ्चालन गर्न आवश्यक व्यवस्थापन तीव्र पारिएको जनाएको छ।

