ठगी योजनामा संलग्न ६ भारतीय र १ नेपाली झापाबाट पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१४ फागुन २०८२, झापा — नेपाल–भारत सीमा क्षेत्रमा संगठित रूपमा ठगी (स्क्याम) सञ्चालन गर्दै आएको गिरोहका ६ भारतीय र १ नेपालीलाई झापा प्रहरीले पक्राउ गरेको छ।

करिब १२ करोड रुपैयाँ बराबरको नक्कली नोटको भ्रम सिर्जना गरी ठगी गर्ने योजना बनाइरहेको अवस्थामा विभिन्न किर्ते कागजात तथा सामग्रीसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगालका अरिन्दम धर, उनकी श्रीमती दिपा भौमिक, सुमन सरकार, नुर कलाम शेख, अवेद अली हुसैन र फारुक अज्मी रहेका छन्। साथै झापा कमल गाउँपालिका–६ का ४३ वर्षीय देवेन्द्र सापकोटा पनि पक्राउ परेका छन्।

मंगलबार साँझ चन्द्रगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले भद्रपुरमा उनीहरूलाई दुई भारतीय गाडीसहित फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गिरोहले अत्यन्त चलाखीपूर्ण तरिकाले ठगीको जाल बुनेको थियो। उनीहरूले नोट आकारका सादा कागजको बन्डल तयार गरी अगाडि–पछाडि सक्कली नोट राखेर भिडियो खिच्दै ठूलो रकम देखाइ ठगी गर्ने योजना बनाएका थिए।

प्रहरीले मेचीनगर–४ आमडाँगीबाट २१ टिनका बक्सा र २३७ बन्डल नोट आकारका सादा कागज बरामद गरेको छ। साथै नेपाल सरकारको नक्कली निशान छाप, नेपाल प्रहरीको किर्ते परिचयपत्र तथा विभिन्न सरकारी कार्यालयका नक्कली पत्र र छापहरू पनि बरामद गरिएको छ।

ती कागजातलाई सक्कली प्रमाणित गराउन नोटरी पब्लिकबाट प्रमाणित गर्ने उद्देश्यले उनीहरू चन्द्रगढी पुगेको डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।

पक्राउ परेका सातै जनामाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘लिखत सम्बन्धी कसुर’मा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। विगतमा पनि यस गिरोहले सीमा क्षेत्रका धेरै व्यक्तिलाई ठगेको हुनसक्ने आशंका गर्दै प्रहरीले सम्भावित पीडितलाई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न आग्रह गरेको छ।

Leave a Comment