काठमाडौं, चैत ८, २०८२ — प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलहरू यतिबेला संसदीय दलको नेता चयन गर्ने अन्तिम तयारीमा जुटेका छन्। नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै दलभित्र नेतृत्व चयनको दौड तीव्र बनेको छ।
रास्वपा : शाहको नेतृत्व पक्का जस्तै
स्पष्ट बहुमतसहित पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ।
दलभित्र शीर्ष तहमा भएको छलफलअनुसार निर्वाचित सांसदहरूको सहमतिमै नेता चयन गर्ने समझदारी बनेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाले १८२ सिट जितेको छ। नेता चयनपछि शाहलाई प्रधानमन्त्रीका रूपमा सिफारिस गरिने तयारी छ।
कांग्रेस : नयाँ पुस्ता कि पुराना नेता ?
नेपाली कांग्रेसभित्र संसदीय दलको नेतामा नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवाज उठिरहेको छ।
अर्जुननरसिंह केसीले सार्वजनिक रूपमा दाबी गरेका छन् भने भिष्मराज आङ्देम्बेको नाम पनि चर्चामा छ। पार्टीभित्र अन्तिम निर्णय आन्तरिक विवाद समाधानपछि हुने बताइएको छ।
एमाले : वरिष्ठतामा झुकाव
नेकपा (एमाले) ले संसदीय दलको नेता चयनमा वरिष्ठतालाई प्राथमिकता दिने संकेत गरेको छ।
उपाध्यक्ष रामबहादुर थापा प्रमुख दाबेदारका रूपमा देखिएका छन्। साथै पद्मा अर्याल र सुहाङ नेम्वाङको नाम पनि चर्चामा छ।
नेकपा : दाहाललाई निरन्तरता
१७ सिट रहेको नेकपाले संयोजक पुष्पकमल दाहाललाई नै संसदीय दलको नेता बनाउने तयारी गरेको छ।
अनुभवी नेतृत्वमार्फत प्रतिपक्षमा सशक्त भूमिका निर्वाह गर्ने रणनीति दलको रहेको छ।
श्रम संस्कृति पार्टी र राप्रपा : नेतृत्व टुंगो
श्रम संस्कृति पार्टीले अध्यक्ष हर्क साम्पाङलाई संसदीय दलको नेता बनाउने निर्णय गरिसकेको छ।
यस्तै, राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता र खुस्बु ओलीलाई प्रमुख सचेतक बनाएको छ।
संविधानअनुसार बहुमत प्राप्त संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था रहेकाले दलहरू नेतृत्व चयनमा तीव्र रूपमा जुटेका छन्।

