१६ चैत्र,बारा: नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.डिला संग्रौलाले मधेश प्रदेशमा देखिएको सुख्खा र खडेरीको समस्या बढ्दै गए देशनै समस्यामा जाने बताउनु भएको छ ।
कृषि प्रधान देश नेपाल त्यहाँ माथि उब्जनीको भण्डार रहेको मधेशमा सुख्खा बढ्दै जानु चिन्ताको विषय भएको उहाँले बताउनु भयो । यसमा बेलैमा ध्यान पुर्याउन नसकेको मधेश सकिन बेर नलाग्ने र मधेश सकिए नेपालको आर्थिक अवस्था स्वतः सकिने उहाँको भनाइ थियो ।
बाराको सदरमुकाम कलैया स्थित विपी स्मृती भवनमा नेपाल प्रेस युनियन बारा शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य संग्रौलाले चुरेदोहनको कारण मधेश प्रदेशमा पानीको अभाव भइ सुख्खा र खडेरी हुने क्रम बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपाल देश कृषि प्रधान देश हो । त्यसमा पनि मधेश प्रदेशका अधिकाँश मानिसहरु कृषिमा निर्भर छन् । हाम्रो देशको अर्थतन्त्र कृषि र रेमिटान्समा निर्भर छ । तर कृषिको लागि चाहिने पानीको अभाव केही वर्ष देखि मधेश प्रदेशमा बढ्दै गएको छ । जसको कारण उत्पादनमा समेत ह्रास हुँदै गएको छ भने कतिपय किसानहरु पलायन हुने अवस्थामा पुगेका छन् । चुरे दोहनलाई सरकारले नियन्त्रणमा गर्न सकेको छैन । बालुवा गिटीको उत्खनन र चुरे दोहनले मधेशमा खडेरी बढाएको अवस्था छ । तर सरकारले यसको रोकथाम तथा नियन्त्रण गर्न कुनै कदम चालेको छैन ।’
अहिलेको परिस्थितिमा जुन रुपमा चुरे दोहन भइरहेको छ त्यही अनुपातमा दोहन भइरहने हो भने मधेश सकिन बेर नलाग्ने र मधेश सकिए देश सकिन कसैले पनि रोक्न नसक्ने उहाँले बताउनुभयो ।
देशमा खाद्य संकट उत्पन्न हुनु चुरे दोहनको मुख्य कारण रहेको बताउँदै उहाँले पानीको अभावमा कृषि उत्पादमा प्रत्यक्ष पारेको बताउनु भयो ।
जसका कारण भारतको चामल किनेर खान बाध्य भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो,‘नेपाली कृषकहरु एकातिर खडेरीको मार खेप्न बाध्य छन् भने अर्को तर्फ समयमा खाद्य बिउ नपाएर किसानी गर्न समेत समस्या हुँदै आएको छ ।’
‘सरकारले आफनै देशमा मल उत्पादन गर्न सकेको छैन । यदि भारतबाट नै मल ल्याउने हो भने पनि दुई सरकार बीच कुरा गरेर समयमै मल खाद्य विऊ उपलब्ध गराई दिने हो भने कृषकहरुलाई केही हदसम्म भएपनि राहत पुग्ने थियो ।’ उहाँले भन्नुभयो, ‘किसानहरुले बजार नपाएर विचौलियाका इशारामा नाच्न बाध्य भएका छन् । उनीहरुले उत्पादन गरेको बालीको उचित मूल्य पाउन सकेका छैनन् । उखु किसानहरुले उखुको मूल्य निर्धारण गराउन र विक्री गरेको उखुको दाम पाउन समेत आन्दोलन गर्नु परेको अवस्थाको विद्यमानता रहेको छ ।’ उहाँले बताउनुभयो ।
एक अर्को प्रसँगमा बोल्दै डा संग्रौलाले अहिलेको सरकार भ्रष्टाचार गर्नमा मात्र तल्लिन रहेको आरोप लगाउनुभयो । तलदेखि माथिसम्म भ्रष्टाचारले जडो गाडेको अवस्था रहेको उहाँले बताउनु भयो ।
त्यसैले काँग्रेस प्रतिपक्षमा रहेर सरकारलाई खबरदारी गर्ने जमर्को गरेको उहाँले बताउनुभयो । काँग्रेस अब कसैसँग गठबन्धन नगर्ने र मधेशबाट नै भ्रष्टाचार विरोधी अभियानको थालनीमा लाग्ने उहाँले बताउनु भयो ।
काँग्रेसको मेरुदण्ड नै मधेश प्रदेश हो, उहाँले भन्नुभयो ‘काँग्रेस पार्टीले हरेक आन्दोलनको शुरुवात मधेश प्रदेशबाट गरेको छ र सफल पनि भएको छ । मधेश प्रदेशको ड्रीम प्राजेक्टको रुपमा रहेको फास्ट ट्रयाक र निजगढ विमान स्थल चाँडो भन्दा चाँडो बनाउन उहाँले माग गर्नुभयो ।
मधेशको उर्बर भूमिमा आधुनिक सिचाईको अभावका कारण युवा विदेश जान बाध्य भएकोे उहाँले बताउनु भयो ।
मधेशी जनताले विरोध गर्दै आएको संविधानका केही बुँदामा सच्याएर मधेशीहरुको हकहित संरक्षण सम्बद्र्धन गराउन नेपाली काँग्रेस लागि पर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।
नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादव, उपसभापति मनोज भट्ट, नेपाल प्रेस युनियम मधेश प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका महासमिति सदस्य लुकेश सिह लगायत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन बाराका सचिव राजेश कुशवाहाले गर्नु भएको थियो ।