१५ भाद्र,बारा : नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यक्रमअनुसार आइतबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाई बारामा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ। धर्ना कार्यक्रम दिउँसो १ बजेदेखि ३ बजे सम्म सञ्चालन भएको थियो।
आन्दोलन परिचालन समिति बाराका संयोजक राजकिशोर सहनीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक नेताहरूको उपस्थिती रहेको थियो। यसअघि शुक्रबार पनि महासंघको केन्द्रीय प्रथम चरणको आन्दोलन अन्तर्गत बाराका १६ वटा स्थानीय तहमा सहित देशव्यापी रूपमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न गरिएको थियो।
धर्नामा सहभागी शिक्षकहरूले २०८२ वैशाख १७ गते मन्त्रिपरिषद्बाट पारित ९ बुँदे सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। महासंघका अनुसार ती बुँदाहरू अझै कार्यान्वयनमा नआएपछि शिक्षकहरू निराश बनेका छन्।
यस्तै, महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित विद्यालय शिक्षा विधेयकमा सहमति विपरीतका प्रावधान राखिएको भन्दै आपत्ति पनि जनाएको छ।


