काठमाडौं, फागुन १८ — प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आज मध्यराति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न नभएसम्म कुनै पनि दल, उम्मेदवार वा समर्थकले चुनावी प्रचार–प्रसार गर्न पाउने छैनन्।
निर्वाचन मिति नजिकिँदै गर्दा आज दिनभर राजनीतिक दल र उम्मेदवारहरूले अन्तिम चरणका प्रचार कार्यक्रम गरिरहेका छन्। तर मध्यराति सुरु हुने मौन अवधिसँगै सभा, जुलुस, भोट माग्ने गतिविधि तथा प्रचार सामग्री प्रयोगमा पूर्ण रोक लाग्नेछ।
मौन अवधि किन आवश्यक ?
निर्वाचनका क्रममा शान्त वातावरण कायम राख्न र मतदातालाई दबाब वा प्रभावबाट मुक्त राख्न मौन अवधिको व्यवस्था गरिएको हो। यसले प्रतिस्पर्धी दलबीच सम्भावित विवाद वा झडपको जोखिम घटाउने तथा स्वच्छ र निष्पक्ष मतदान वातावरण बनाउन सहयोग गर्ने आयोगको विश्वास छ।
यदि मतदानअघिसम्म प्रचार खुला राखिने हो भने मतदातालाई प्रभावित पार्ने, उत्तेजना बढ्ने वा सुरक्षा चुनौती सिर्जना हुने सम्भावना रहने भएकाले मौन अवधि अन्तर्राष्ट्रिय अभ्यासकै रूपमा अपनाइएको बताइएको छ।
के गर्न पाइँदैन ?
मौन अवधिमा निम्न गतिविधि पूर्णतः निषेध हुनेछन्—
कुनै पनि माध्यमबाट भोट माग्ने वा चुनावी प्रचार गर्ने
सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी वा कार्यशाला आयोजना गर्ने
सामाजिक सञ्जाल, अनलाइन वा सञ्चारमाध्यमबाट पक्ष–विपक्षमा सन्देश वा सामग्री प्रसारण गर्ने
मतदान केन्द्र वरपर राखिएका प्रचार सामग्री कायम राख्ने
निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको ३०० मिटर क्षेत्रभित्र रहेका सबै प्रचार सामग्री हटाउन सम्बन्धित दल र उम्मेदवारलाई निर्देशन दिने जनाएको छ।
निर्वाचन आयोगका पदाधिकारीका अनुसार मौन अवधिमा आचारसंहिता उल्लंघन भए कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।






