आजदेखि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१८ फागुन, बारा । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीअन्तर्गत बाराका सबै मतदान केन्द्रमा आजदेखि कर्मचारी र सुरक्षाकर्मी खटिने भएका छन् । ले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुगेर तयारी पूरा गर्न निर्देशन दिएको छ ।

जिल्लाका दुर्गम र टाढाका केही मतदान केन्द्रमा भने केही दिनअघि नै सुरक्षाकर्मी सहितको टोली पुगिसकेको छ । सडक तथा यातायात सुविधा पुगेका क्षेत्रका केन्द्रमा भने सोमबार अपराह्नसम्म कर्मचारी र सुरक्षाकर्मी पुग्ने कार्यक्रम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन सामग्री, मतपत्र तथा संवेदनशील सामग्रीको सुरक्षा ले गर्नेछ । आयोग र प्रहरी मुख्यालयले मतदान सम्पन्न नहुँदासम्म कर्मचारी र सामग्रीसँगै रही २४ घण्टा निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।

मतदान केन्द्रमा पुग्ने मतदान अधिकृतले सोमबार नै केन्द्रको चारकिल्ला तोकिएको सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने र प्रचारप्रसार निषेधित क्षेत्र सम्बन्धी सूचना जारी गर्ने कार्यतालिका रहेको छ । त्यसपछि मतदान स्थलको संरचना तयारी, मतदान प्रक्रिया सञ्चालन र मतपेटिका सुरक्षाको जिम्मेवारी उनीहरुकै रहनेछ ।

निर्देशिका अनुसार प्रत्येक वडामा कम्तीमा एक मतदान केन्द्र रहनेछ भने मतदाता संख्या बढी भएका स्थानमा एउटै मतदान स्थलभित्र ‘क’, ‘ख’, ‘ग’ गरी छुट्टाछुट्टै केन्द्र तोकिने व्यवस्था छ । एक मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता नराखिने र एउटै स्थलमा सातभन्दा बढी केन्द्र नराखिने प्रावधान रहेको छ ।

मतदान सम्पन्न भएपछि सर्वपक्षीय उपस्थितिमा मतपेटिका मुचुल्का गरी मतदान अधिकृतले सबै सामग्री निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी पूरा हुने जनाइएको छ ।

Leave a Comment