सोमबार, ३० चैत २०८२,पर्सा — पर्साको वीरगञ्ज महानगरपालिका–९ मा एक प्रहरी जवानको हत्या भएको छ।
कालिकामाई गाउँपालिका–१, मुडली (पर्सा) घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत २८ वर्षीय विकास चौरसियाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गरी निर्घात कुटपिट गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले चौरसियालाई अचेत अवस्थामा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धान अनुसार विवाहेतर प्रेम सम्बन्धका कारण घटना भएको खुलेको छ।
प्रहरीका अनुसार रौतहटका २६ वर्षीय सन्तोष साह र उनकी पत्नी २४ वर्षीया सोनी कुमारी साह वीरगञ्जस्थित रानीघाटमा भारतीय महावाणिज्य दूतावास पछाडि रहेको फिरोज मियाँको घरमा डेरा गरी बस्दै आएका थिए। सोही कोठामा पुगेका बेला चौरसियामाथि आक्रमण भएको हो।
घटनामा संलग्न सन्तोष साह, उनकी पत्नी सोनी कुमारी साह, बाराको महागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह तथा भारत, उत्तरप्रदेशको अलीगढ निवासी २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ।
अनुसन्धानका क्रममा चौरसिया र सोनीबीच विवाहेतर सम्बन्ध रहेको थाहा पाएपछि सन्तोषले हत्या योजना बनाएको खुलेको छ। सोही योजनाअनुसार चौरसियालाई कोठामा बोलाई चारै जनाले रड प्रहार गरी कुटपिट गरेका थिए।
मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

