बारा, साउन १६ — मधेश प्रदेशका केही जिल्लामा पछिल्ला दिनहरूमा देखिएको धार्मिक तथा सामाजिक तनावको प्रभाव बारामा पर्न नदिन शनिबार कलैयामा बृहत् सर्वदलीय–सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा आयोजित र्यालीमा सुरक्षा निकाय, जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक अगुवा, उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
‘अफवाह होइन, सत्य सूचना र आपसी विश्वासमा अघि बढौं’ भन्ने सन्देश बोकेको र्यालीले कलैयाका विभिन्न मुख्य सडक परिक्रमा गर्दै धार्मिक सहिष्णुता, सामाजिक एकता र राष्ट्रिय सद्भाव कायम राख्न सबैलाई आह्वान गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भावको रक्षा गर्नु सबै नागरिकको साझा दायित्व भएको बताउनुभयो। उहाँले समाजलाई विभाजन गर्ने कुनै पनि गतिविधिप्रति प्रशासन शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्दै नागरिकलाई अफवाह र भ्रामक सूचनाबाट सचेत रहन आग्रह गर्नुभयो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले सामाजिक सञ्जालमा अपुष्ट सूचना र उत्तेजनात्मक सामग्री फैलाएर समाजमा अशान्ति सिर्जना गर्ने प्रयास कानुनविपरीत हुने बताउनुभयो। उहाँले कुनै पनि प्रकारको साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि सह्य नहुने उल्लेख गर्दै शान्ति–सुरक्षा कायम गर्न नेपाल प्रहरी चौबीसै घण्टा तयारी अवस्थामा रहेको जानकारी दिनुभयो। उहाँले सबै समुदायलाई आपसी सद्भाव कायम राख्न र कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।
र्यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा नाराबाजी गरेका थिए। सहभागीहरूले संवाद, सहकार्य र आपसी सम्मान नै स्थायी शान्तिको आधार भएको धारणा व्यक्त गरेका थिए।
जिल्ला प्रशासन कार्यालय बाराले पछिल्ला घटनाबाट उत्पन्न हुन सक्ने सम्भावित तनावलाई न्यूनीकरण गर्दै जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्ने उद्देश्यले सद्भाव र्याली आयोजना गरिएको जनाएको छ। सहभागीहरूले यस्ता अभियानले समाजमा विश्वास, भाइचारा र सामाजिक एकता अझ बलियो बन्ने विश्वास व्यक्त गरेका छन्।
धार्मिक सद्भावको सन्देश दिँदै कलैयामा बृहत् शान्ति र्याली, सबैलाई संयम अपनाउन आग्रह
Leave a Comment
Leave a Comment

