२६ फागुन २०८२, हेटौंडा-बागमती प्रदेशका प्रतिनिधिसभा निर्वाचन परिणामले नेपाली राजनीतिको नयाँ चित्र प्रस्तुत गरेको छ। ३३ वटा निर्वाचन क्षेत्र रहेको बागमतीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै ३१ सिट जितेको छ। एउटै प्रदेशमा यति ठूलो बहुमत ल्याउने यो पहिलो घटना मानिएको छ।
बाँकी दुई क्षेत्रमा भने नेपाली कांग्रेस र नेकपा ले एक–एक सिट जितेका छन्। यसपटकको निर्वाचनमा अघिल्ला चुनावमा बलियो उपस्थिति देखाएको नेकपा एमाले भने बागमतीमा पूर्ण रूपमा पराजित हुँदै एक सिट पनि जित्न सकेन।
काठमाडौं उपत्यका पूर्ण रूपमा रास्वपाको कब्जामा
काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्।
काठमाडौंका सबै १० क्षेत्रमा रास्वपाले जित निकाल्दा पार्टीको शहरी क्षेत्रमा प्रभाव झन् बलियो देखिएको छ।
काठमाडौंका विजयी उम्मेदवारहरूमा रञ्जु दर्शना (न्यौपाने), सुनील केसी, राजुनाथ पाण्डे, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रदीप विष्ट रहेका छन्।
अन्य जिल्लामा पनि रास्वपाको वर्चस्व
उपत्यकाबाहेकका अधिकांश जिल्लामा पनि रास्वपाले जित हासिल गरेको छ।
दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर र चितवनलगायत जिल्लामा पार्टीले व्यापक सफलता पाएको छ।
चितवनका तीनै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भए। चितवन–१ मा हरि ढकाल, चितवन–२ मा रवि लामिछाने र चितवन–३ मा सोविता गौतम निर्वाचित भएका छन्।
कांग्रेस र नेकपाको एक–एक सिट
रास्वपाको लहरबीच दुई क्षेत्र मात्रै अन्य दलले जितेका छन्।
रसुवा–१ बाट नेपाली कांग्रेसका मोहन आचार्य विजयी भए भने सिन्धुपाल्चोक–२ बाट नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्।
युवा उम्मेदवारको उल्लेखनीय उपस्थिति
यसपटक बागमतीबाट निर्वाचित धेरै सांसद ५० वर्षभन्दा कम उमेरका छन्। सबैभन्दा कान्छा सांसद मकवानपुर–२ बाट निर्वाचित २५ वर्ष ९ महिनाका प्रशान्त उप्रेती बनेका छन्।
बागमतीबाट कुल ३३ सांसद निर्वाचित हुँदा ४ जना महिला सांसद निर्वाचित भएका छन्। उनीहरूमा सोविता गौतम, रञ्जु दर्शना (न्यौपाने), तोसिमा कार्की र आशिका तामाङ छन्।
अघिल्लो चुनावको तुलनामा ठूलो परिवर्तन
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बागमतीमा नेपाली कांग्रेस ले सबैभन्दा धेरै १३ सिट जितेको थियो भने रास्वपाले ७ सिट मात्रै जितेको थियो। तर २०८२ को निर्वाचनमा भने परिणाम पूर्ण रूपमा उल्टिएको छ र रास्वपाले प्रदेशको राजनीतिक समीकरण नै बदलिदिएको छ।

