सात देशका लागि श्रम स्वीकृति खुला, विदेश फर्किने बाटो सहज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३ चैत २०८२, काठमाडौं-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सात देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। यस निर्णयसँगै बिदामा नेपाल आएका तथा फर्किन चाहने श्रमिकलाई पुनः काममा जान सहज हुने भएको छ।

मन्त्रालयका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि श्रम स्वीकृति दिने निर्णय गरिएको हो। पछिल्लो समय पश्चिम एसियामा विकसित द्वन्द्व र अस्थिरताका कारण ती देशतर्फ जाने श्रमिकको श्रम नवीकरण रोकिएको थियो।

नयाँ व्यवस्थासँगै ती देशमा कार्यरत नेपालीले पुनः श्रम स्वीकृति लिएर आफ्नो रोजगारीमा फर्किन सक्ने भएका छन्। यसले वैदेशिक रोजगारीमा निर्भर हजारौँ नेपालीलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि मन्त्रालयले केही देशका लागि भने अझै सतर्कता अपनाएको छ। इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनानमा कार्यरत नेपाली श्रमिकको अवस्थालाई मध्यनजर गर्दै ती स्थानका लागि श्रम स्वीकृति सम्बन्धी निर्णय अझै खुलाइएको छैन।

सरकारले सुरक्षा अवस्था र कूटनीतिक परिस्थिति मूल्यांकन गर्दै क्रमशः अन्य देशका विषयमा पनि निर्णय लिने जनाएको छ।

Leave a Comment