२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चलेपछि एक मतपेटिकामा क्षति पुगेको छ।
कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा उक्त घटना भएको हो। इलाका प्रहरी कार्यालय सुन्दरपुर दरबन्दी भई अस्थायी प्रहरी पोष्ट चुहाडेमा कार्यरत एक प्रहरी जवानले बोकेको सर्टगनबाट अचानक गोली पड्किएको प्रहरीले जनाएको छ।
गोली लाग्दा मतपेटिकामा क्षति पुगेको छ। उक्त मतपेटिकामा ४ वटा मत खसेका थिए। तर मतपत्रमा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
घटनापछि क्षति भएको मतपेटिकाको सट्टा अर्को मतपेटिका प्रयोग गरी मतदान प्रक्रिया पुनः सुरु गरिएको छ।
विनोद घिमिरेका अनुसार सुरक्षाकर्मी लड्दा हतियार पड्किएर गोली चलेको हो।

