निर्वाचनपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, फागुन २८ — पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा आएपछि नेकपा एमालेभित्र नेतृत्व र नीति परिवर्तनको बहस तीव्र बनेको छ। पार्टीका विभिन्न नेताहरूले सार्वजनिक रूपमा पार्टीको समीक्षा आवश्यक भएको बताएका छन्।

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै पार्टीलाई जनअपेक्षाअनुसार रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनले विगतका कमजोरीको गम्भीर समीक्षा गर्दै नीति, नेतृत्व र संगठनमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै उपमहासचिव योगेश भट्टराईले पनि निर्वाचन परिणामले जनताले पार्टीको नीति र नेतृत्वलाई अस्वीकार गरेको संकेत गरेको बताएका छन्। उनले पार्टीभित्र व्यापक परिवर्तन आवश्यक रहेको धारणा राखेका छन्।

तर महासचिव शंकर पोखरेलले भने पार्टीलाई कमजोर भएको भ्रम नफैलाउन आग्रह गरेका छन्। उनले सबै निर्वाचन क्षेत्रको परिणामको समीक्षा प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन्।

यसपटकको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि झापा–५ बाट ठूलो मतान्तरले पराजित भएका छन्। निर्वाचन परिणामपछि पार्टीभित्र नेतृत्व परिवर्तनको विषयमा बहस अझ बढेको छ।

निर्वाचन आयोगको अन्तिम परिणाम अनुसार एमालेले समानुपातिकतर्फ १४ लाख ५३ हजारभन्दा बढी मत प्राप्त गरेको छ। प्रत्यक्ष र समानुपातिक गरी एमाले प्रतिनिधिसभामा २५ सिटसहित तेस्रो शक्ति बनेको छ।

Leave a Comment