रवि लामिछानेसम्बन्धी रिटमा आज सर्वोच्चमा सुनुवाइ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत २, २०८२,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

लामिछानेविरुद्ध लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिटमा सुनुवाइ हुन लागेको हो।

सर्वोच्च अदालतले आइतबार उक्त मुद्दा ‘हेर्दाहेर्दै’मा राखेपछि आजका लागि सुनुवाइ तोकेको हो। न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए।

यसअघि न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध दर्ता भएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

सो निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।

Leave a Comment