३० बैशाख,बारा: नेपाल शिक्षक संघ बाराले ३६औं स्थापना दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस उल्लासपूर्ण तरिकाले मनाएको छ। बाराको सदरमुकाम कलैयाको मुख्य चौकमा मैनबत्ती बालेर आयोजित कोण सभासहित कार्यक्रम सम्पन्न गरिएको हो ।
कोण सभाको अध्यक्षता शिक्षक संघ बारा अध्यक्ष राज किशोर सहनीले गरेका थिए। सभामा बोल्दै अध्यक्ष सहनीले शिक्षाको सुधार र शिक्षकको हक–अधिकार सुनिश्चित गर्न नेपाल सरकारले चाँडै शिक्षा ऐन जारी गर्नुपर्नेमा जोड दिए। “शिक्षा ऐनमार्फत मात्र विद्यालय शिक्षक र कर्मचारीहरूको मागको समाधान सम्भव छ,” अध्यक्ष सहनीले भने, “शिक्षक संघ यसका लागि निरन्तर दबाबमूलक पहल गर्दै आएको छ र जारी पनि राख्नेछ।”
कोण सभामा बाराका विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो।
कोण सभाको संचालन शिक्षक संघ बाराका सचिव सुकदेव यादवले गरेका थिए। उनले शिक्षकहरूको पेशागत अधिकार र सम्मानका लागि ऐक्यबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै संघको आगामी कार्यक्रमहरूबारे जानकारी गराएका थिए।
स्थापना दिवसको अवसरमा शिक्षक संघ बाराले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवता र शिक्षाको सेतु निर्माण गर्ने उद्देश्यले कलैयास्थित अमृता अनाथ आश्रममा आश्रित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको जानकारी पनि अध्यक्ष सहनीले दिए। “हामीले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समाजप्रति योगदान दिने अवसरका रूपमा लिएका छौं,” उनले भने।
शिक्षक संघ बाराको ३६ वर्षे यात्रा नेपाली शिक्षक आन्दोलनको महत्वपूर्ण पाटो भएको बताउँदै सहभागी शिक्षकहरूले संघले अझ मजबुत रूपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले शिक्षकहरूको एकता, अधिकार र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता पुनः स्मरण गराएको छ। आगामी दिनमा संघले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक हकहितका लागि थप सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।


