चैत २, २०८२-काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै राउतले आफू अब संसदीय पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र एजेण्डाका लागि संघर्ष जारी राख्ने उल्लेख गरेका छन्। उनले राजनीतिबाट पूर्ण रूपमा अलग नहुने स्पष्ट गर्दै जनताको सेवामा निरन्तर सक्रिय रहने बताए।
राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय दलका रूपमा उदाएको थियो। उक्त निर्वाचनमा राउत स्वयं प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिक प्रणालीबाट पनि पार्टीले थप सिट प्राप्त गरेको थियो।
तर २०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीले कुनै सिट जित्न सकेन। सप्तरी–२ बाट उम्मेदवारी दिएका राउत रास्वपाका रामजी यादवसँग पराजित भएका थिए। प्रत्यक्षतर्फका अन्य उम्मेदवार पनि विजयी हुन सकेनन् भने समानुपातिकतर्फ पनि पार्टीले थ्रेसहोल्ड पार गर्न सकेन।
राउतले अब आफू संसदीय राजनीतिबाट अलग रहँदै पार्टीलाई आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि तयार पार्ने बताएका छन्। उनले जनताको अधिकार, पहिचान र मुद्दाका लागि संघर्षमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
राउतले व्यक्तिगत इच्छा नभए पनि परिस्थितिका कारण आफू जनमत पार्टीको अध्यक्ष बनेको दाबी गरेका छन्। सहकर्मीहरूले नेतृत्व लिन नमानेपछि बाध्य भएर पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्नुपरेको उनले बताएका छन्। साथै उनले आफ्नो इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि उल्लेख गरेका छन्।

