पाकिस्तानद्वारा अफगानिस्तानमा हवाई हमला, ४०० जनाको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, चैत ३ — पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको समाचार सार्वजनिक भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राति पाकिस्तानी वायुसेनाले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेको हो। उक्त आक्रमणमा करिब ४०० जनाको मृत्यु भएको बताइएको छ भने २५० भन्दा बढी घाइते भएका छन्।

रिपोर्टअनुसार दारुल अमान, अर्जन किमात, खैरखाना तथा काबुल अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ठूलो विस्फोट र गोलीबारीको आवाज सुनिएको थियो।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलस्थित लागुऔषध पुनर्स्थापना अस्पतालमा समेत बमबारी गरेको आरोप लगाएका छन्।

तालिबानले घटनाको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भएको जनाएको छ। साथै, पाकिस्तानले अफगान हवाई क्षेत्र उल्लङ्घन गरेको दाबी पनि गरेको छ।

यता, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले यी आरोप अस्वीकार गरेका छन्। उनले काबुलका कुनै पनि अस्पतालमा आक्रमण नभएको बताएका छन्।

पाकिस्तानको सूचना मन्त्रालयले भने काबुल र नान्गारहार क्षेत्रमा रहेका सैन्य अड्डा, प्राविधिक उपकरण भण्डारण केन्द्र र हतियार डिपोलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ। ती स्थानहरू पाकिस्तानी नागरिकमाथि आक्रमणका लागि प्रयोग भइरहेको दाबी गरिएको छ।

Leave a Comment