काठमाडौं, जेठ २६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेशको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। जिल्ला अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर उत्पन्न विवाद र असहमति बढेपछि पार्टीले अधिवेशनसँग सम्बन्धित सबै गतिविधि रोक्ने निर्णय गरेको हो।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको सूचनामा अर्को निर्णय नभएसम्म मधेस प्रदेश अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगित रहने जनाएको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार प्रतिनिधि छनोट, निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक तथा भेलालगायतका गतिविधिमा रोक लगाइएको छ।
रास्वपाले देशभर प्रदेश अधिवेशन सुरु गरे पनि मधेस प्रदेशमा भने संगठनभित्र देखिएको विवादका कारण अधिवेशन प्रभावित भएको हो। विशेषगरी जिल्ला तहबाट प्रतिनिधि छनोटको विषयलाई लिएर असन्तुष्टि र विवाद बढेपछि नेतृत्वले अधिवेशन रोक्ने निर्णय गरेको बताइएको छ।
पार्टीभित्रको विवाद समाधान गरी सहमतिपूर्ण वातावरण तयार भएपछि मात्र अधिवेशनको नयाँ मिति सार्वजनिक गरिने जनाइएको छ। यससँगै मधेस प्रदेशमा अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि हालका लागि बन्द गरिएको छ।
मधेसमा आन्तरिक विवाद बढेपछि रास्वपाको प्रदेश अधिवेशन स्थगित
Leave a Comment
Leave a Comment






