फेटा गाउँपालिकामा औषधि र स्यानिटरी प्याड खरिदमा अनियमितता, महालेखाले औंल्यायो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

बारा, चैत ४ — बाराको फेटा गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा गरेको औषधि तथा स्यानिटरी प्याड खरिद प्रक्रियामा व्यापक अनियमितता भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको लेखापरीक्षण प्रतिवेदनले खरिद प्रक्रिया, अभिलेख व्यवस्थापन र मापदण्ड पालनामा गम्भीर कमजोरी देखाएको हो।

प्रतिवेदनको बुँदा २० अनुसार गाउँपालिकाले औषधि खरिद गर्दा वार्षिक आवश्यकता निर्धारण गरी सोही आधारमा आपूर्ति व्यवस्थापन गर्नुपर्ने प्रावधान भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरिएको छ। खरिद गरिएका औषधिहरूमा उत्पादन मिति, म्याद सकिने मिति, ब्याच नम्बर र उत्पादक कम्पनीको नामजस्ता आवश्यक विवरण स्पष्ट रूपमा अभिलेख राखिएको नदेखिएको प्रतिवेदनमा जनाइएको छ।

त्यस्तै, निःशुल्क वितरणका लागि छुट्याइएका औषधिहरूको विवरण समेत पर्याप्त रूपमा उल्लेख नगरिएको पाइएको छ। आपूर्ति गरिएका औषधिहरूको कम्तीमा दुई वर्ष म्याद बाँकी हुनुपर्ने प्रावधान भए पनि सो मापदण्ड पूर्ण रूपमा पालना नभएको महालेखाले औंल्याएको छ। औषधि भण्डारण तथा दर्ता प्रक्रियामा समेत लापरवाही देखिएको प्रतिवेदनमा उल्लेख छ।

गाउँपालिकाले संघीय सशर्त चालु शीर्षकबाट मेडिसेल प्रा.लि.मार्फत करिब १४ लाख ३४ हजार रुपैयाँ बराबरको औषधि खरिद गरेको भए पनि उक्त खरिदमा पारदर्शिता र मापदण्ड पालनामा कमी रहेको निष्कर्ष निकालिएको छ। महालेखाले औषधि खरिद तथा व्यवस्थापनसम्बन्धी प्रचलित नियमावलीको पूर्ण कार्यान्वयन गर्न र आवश्यक विवरण पारदर्शी रूपमा अभिलेख राख्न गाउँपालिकालाई निर्देशन दिएको छ।

यसैगरी, स्यानिटरी प्याड खरिद प्रक्रियामा पनि आवश्यकता भन्दा बढी खरिद गरिएको पाइएको छ। स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ अनुसार आवश्यकता अनुसार मात्र खरिद गर्नुपर्ने र गुणस्तर कायम रहने गरी भण्डारण गर्नुपर्ने व्यवस्था भए पनि गाउँपालिकाले ती प्रावधान पालना नगरी ठूलो परिमाणमा खरिद गरी मौज्दात राखेको उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार चालु शैक्षिक वर्षका लागि गाउँपालिकाले ४४ हजार ५८० पिस स्यानिटरी प्याड करिब १३ लाख ७८ हजार रुपैयाँमा खरिद गरेको छ। तर विद्यालयमा अध्ययनरत छात्राको संख्या र वास्तविक आवश्यकतासँग मेल नखाने गरी खरिद गरिएको देखिएकोले खर्च व्यवस्थापनमा कमजोरी देखिएको महालेखाको ठहर छ। साथै, सुरक्षित भण्डारणको अभावका कारण प्याडको गुणस्तरमा असर पर्न सक्ने जोखिम पनि औंल्याइएको छ।

यस विषयमा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले औषधि खरिद नियमानुसार नै गरिएको दाबी गरेका छन्। उनले खरिद प्रक्रियाका लागि टेन्डर आह्वान गरेर औषधि खरिद गरिएको बताए।

गाउँपालिकाको स्वास्थ्य शाखाले केही औषधि प्रदेश र जिल्ला तहबाट प्राप्त हुने तथा केही पालिकाले खरिद गर्ने गरेको जनाएको छ। पालिकाबाट खरिद गरिने औषधिको न्यूनतम १८ महिना म्याद रहेको मात्र खरिद गरिने दाबी पनि शाखाले गरेको छ।

हालका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले आफू पछिल्लो ६ महिनादेखि मात्र कार्यरत रहेको र सम्बन्धित औषधि खरिद आर्थिक वर्ष ०८०/०८१ मै भएको जानकारी दिएका छन्।

महालेखाको प्रतिवेदनपछि गाउँपालिकाको खरिद प्रक्रिया र सार्वजनिक स्रोतको उपयोगमाथि प्रश्न उठेको छ।

Leave a Comment