दक्षिण कोरियामा सञ्चारमन्त्री खरेल : ‘फागुन २१ को निर्वाचन सुशासनसहित सम्पन्न हुन्छ’

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

२९ कात्तिक २०८२, शनिबार
काठमाडौं ।

दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सुशासनसहित सम्पन्न हुने दाबी गरेका छन्।

नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले सिओलमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक वातावरण पूर्ण रूपमा तयार भइसकेको बताए।
उनले भने, ‘फागुन २१ मा निर्वाचन गर्छौं। निर्वाचनका लागि वातावरण बनिसकेको छ। भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनेको छ।’

उनका अनुसार नेपाल प्रहरी नयाँ नेतृत्वसहित जिम्मेवारीपूर्वक लागिरहेको छ र कुनै पनि राजनीतिक दलले निर्वाचनमा सहभागी नहुने भनाइ राखेको छैन। केही दलले सुरक्षा सम्बन्धी प्रश्न उठाए पनि ती तत्काल समाधान भइरहेका बताए।

एआई, डिजिटल ट्रान्सफर्मेसन र सुशासन सरकारको प्राथमिकता

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य लक्ष्य सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्द्धनसँगै समयमै निर्वाचन गराउनु रहेको बताए।

उनले एआई (Artificial Intelligence) र डिजिटल ट्रान्सफर्मेसनलाई नेपालको भविष्यसँग जोड्दै कोरियाबाट ज्ञान, सीप र प्रविधि सिक्ने ठूलो सम्भावना रहेको उल्लेख गरे।
राष्ट्रिय एआई केन्द्र स्थापना भइसकेको भन्दै उनले कोरिया सरकारसँग थप सहयोगको अपेक्षा व्यक्त गरे।

विदेशमा रहेका नेपालीका माग– सुझाव

कार्यक्रममा सहभागी नेपालीहरूले देशमा लगानीमैत्री वातावरण बनाउनुपर्ने सुझाव राखे।
तिनीहरूले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने पनि बताए।

दक्षिण कोरियास्थित नेपाली दूतावासका प्रतिनिधिहरूले दूतावासले नेपालीको हकहित र दुई देशबीचको सम्बन्ध मजबुत बनाउन निरन्तर काम गरिरहेको जानकारी दिए।

एनआरएनए र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कोरियामा रहेका श्रमिकहरूको समस्या समाधान, आपतकालीन सहयोग व्यवस्थापनलगायतमा निरन्तर समन्वय भइरहेको बताए।

विदेशी नेपालीका लागि मतदान अधिकार : प्रक्रिया सुरु

मन्त्री खरेलले विदेशमै बसेर नेपालीले मतदान गर्न पाउने व्यवस्था अब धेरै ढिला नहुने बताए।
उनका अनुसार यसका लागि कानुनी प्रक्रिया अघि बढिसकेको छ।
उनले भने, ‘अध्यादेश ल्याएर भए पनि विदेशस्थ नेपालीलाई मताधिकार सुनिश्चित गरिन्छ।’

कोरिया–नेपाल सिधा उडानका लागि पहल

खरेलले नेपाल एयरलाइन्सको दक्षिण कोरिया (सिओल)–काठमाडौं सिधा उडानका लागि सरकारले आवश्यक पहल अघि बढाउने बताए।
कोरियामा झण्डै एक लाख नेपाली कार्यरत तथा बसोबास गर्दै आएका छन्।

आइसिटी लिडरसिप फोरममा सहभागिता

११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन मन्त्री खरेल कात्तिक २५ गते दक्षिण कोरिया गएका हुन्।
कार्यक्रम कोरियाको विज्ञान तथा आइसिटी मन्त्रालय (MSIT) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA) को संयुक्त आयोजनामा सिओलमा भइरहेको छ।
मन्त्री खरेलसँग उनका स्वकीय सचिव उद्धव भट्टराई पनि सहभागी छन्।

कोरिया भ्रमण सकेर उनी आज साँझ नेपाल फर्किने छन्।

Leave a comment