१२ चैत,काठमाडौं — नेपाल पत्रकार महासंघले गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगको प्रतिवेदनप्रति गम्भीर असन्तुष्टि जनाएको छ। भदौ २३ र २४ का घटनाबारे अध्ययन गर्न गठित उक्त आयोगले आफ्नो सीमाभन्दा बाहिर गई पत्रकारिता क्षेत्रसम्बन्धी विषयमा टिप्पणी गरेको महासंघको भनाइ छ।
महासंघका अनुसार प्रतिवेदनमा समेटिएका केही प्रस्तावहरू अव्यावहारिक मात्र नभई प्रेस स्वतन्त्रताको मूलभावनासँग समेत बाझिएका छन्। पत्रकार बन्नका लागि स्नातक तह अनिवार्य हुनुपर्ने तथा लामो समय विभिन्न भूमिकामा काम गरेको हुनुपर्ने जस्ता सर्तहरूलाई महासंघले अस्वीकार्य ठहर गरेको छ।
जारी धारणा अनुसार यस्ता सुझावहरू संविधान र प्रचलित कानुनी व्यवस्थासँग मेल नखाने मात्र होइन, स्वतन्त्र पत्रकारितामाथि नियन्त्रण गर्न खोजिएको संकेतसमेत दिन्छन्। महासंघले प्रतिवेदनमा प्रतिशोधको झल्को देखिएको आरोप पनि लगाएको छ।
महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारहरू लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्यका निकायलाई प्रेस स्वतन्त्रताको सम्मान गर्न आग्रह गरिएको छ।
साथै, महासंघले आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता दोहोर्याउँदै अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि हस्तक्षेप भए त्यसको कडा प्रतिवाद गरिने चेतावनी दिएको छ।

