काठमाडौं, पुस २०, २०८२ — पहुँच नभएका सर्वसाधारण नागरिकका आवाज राज्यको केन्द्रसम्म पुर्याउने उद्देश्यसहित जेन–जी नेता सुदन गुरुङले ‘सिभिलियन फोर्स’ गठन गर्ने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा गुरुङले सिंहदरबारसम्म कहिल्यै नपुगेका नागरिकका समस्या पहिचान गरी समाधानतर्फ अघि बढ्न यो फोर्स आवश्यक रहेको बताए। उनका अनुसार सिभिलियन फोर्सले नागरिकका गुनासा संकलन गर्ने, छलफल गर्ने र निष्कर्षसहित सम्बन्धित निकायसम्म पुर्याउने काम गर्नेछ।
गुरुङले जानकारी दिएअनुसार फोर्सअन्तर्गत डिजिटल प्लेटफर्ममार्फत नागरिकले आफ्ना समस्या टिपोट गर्न सक्नेछन्। वेबसाइटमा हुने च्याट प्रणालीमा एक संयोजक रहनेछ, जसले आएका गुनासाको निगरानी गर्नेछ। त्यसपछि समस्याबारे छलफल गरिने र छलफलबाट निस्किएको निष्कर्ष प्रदेश संयोजकमार्फत प्रमाणित गरिने उनले बताए।
“सिंहदरबार नदेखेका नागरिकका समस्या हामी आफैं लिएर सिंहदरबारसम्म पुर्याउँछौं,” गुरुङले भने, “देश निर्माणका लागि यस्तो नागरिक–केन्द्रित सिभिलियन फोर्स अपरिहार्य छ।”
उनले यस अभियान सफल बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। हाल सार्वजनिक गरिएको वेबसाइट ‘टेस्ट भर्सन’ मात्र भएको र सुझावका आधारमा थप परिमार्जन गरिने जानकारी पनि उनले दिए।
गुरुङका अनुसार आगामी पुस २७ गते राष्ट्रिय एकता दिवसको अवसर पारेर सबै वर्ग र समुदायलाई जोड्ने साझा डिजिटल प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

