जेनजी आन्दोलनका ‘कमान्डर’ सुधन गुरुङ बने गृहमन्त्री

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१३ चैत,काठमाडौँ-जेनजी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङ अहिले देशको गृहमन्त्री बनेका छन्। आन्दोलनको नेतृत्व गरेर पहिचान बनाएका उनी औपचारिक राजनीतिमा प्रवेश गरेलगत्तै सरकारको महत्वपूर्ण मन्त्रालय सम्हाल्ने ठाउँमा पुगेका हुन्।
गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङले शुक्रबार गृहमन्त्रीको शपथ लिएका छन्। गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी पर्ने भएकाले अब सुरक्षा संयन्त्रको नेतृत्व उनकै हातमा रहनेछ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुरुमा सामान्य सहभागीका रूपमा देखिएका गुरुङ आन्दोलनको अन्त्यतिर ‘कमान्डर’कै रूपमा स्थापित भएका थिए। आन्दोलन रोकेर वार्ताको वातावरण बनाउनदेखि सरकार गठनसम्मका प्रक्रियामा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
प्रधानसेनापतिसँग भएको वार्तामा पनि गुरुङ सक्रिय देखिएका थिए। त्यतिबेला आन्दोलनपछिको राजनीतिक मार्गचित्र बनाउने क्रममा उनले नेतृत्व चयनमा समेत प्रभाव पारेका थिए।
चुनावअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। सुरुमा चुनाव लड्ने वा नलड्ने अन्योलमा रहेका गुरुङ अन्ततः चुनावी मैदानमा उत्रिएर विजयी भए।
निर्वाचनअघि विभिन्न राजनीतिक शक्ति मिलाउने प्रयासमा पनि उनी सक्रिय थिए। बालेन शाह, रवि लामिछाने लगायत नेताबीच सहकार्य गराउन उनले भूमिका खेलेका थिए।
२०४४ साल असार २५ गते जन्मिएका गुरुङको पुख्र्यौली घर गोरखाको चुमनुव्री गाउँपालिका हो। २०७२ सालको भूकम्पपछि राहत तथा उद्धार कार्यमार्फत उनी सामाजिक अभियन्ताका रूपमा चिनिएका थिए।
अब भने आन्दोलनको नेतृत्वबाट सरकारको जिम्मेवारीमा पुगेका गुरुङले कानून कार्यान्वयन र शान्ति सुरक्षाको जिम्मा सम्हाल्नेछन्। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूको छानबिन र दोषीमाथि कारबाही गर्ने जिम्मेवारी समेत उनकै काँधमा आएको छ।

Leave a Comment