५ बैशाख, बारा: नेपाल शिक्षक संघ बाराले प्राथमिक तहको शिक्षकको नियुक्ति र पदस्थापन सच्याउन माग गरेको छ ।
संघका जिल्ला अध्यक्ष राजकिशोर सहनीले आज एक विज्ञप्ति जारीगर्दै शिक्षा बिकास तथा समन्वय ईकाई कार्यालय बाराले चैत्र २९ गते गरेको नियुक्ति र पदस्थापन सच्याउन माग गरेका हुन । ईकाई कार्यालयले स्थानीय तह र शिक्षक संस्थाका प्रतिनिधिहरुसंग छलफल नगरी दरबन्दी एकीन नगरीकन नै नियुक्ति र पदस्थापन गरिएको आरोप लगाउँदै सहनीले निर्णय सच्याउन माग गरेका हुन ।
शिक्षक संघले स्थानीय तहको शिक्षा शाखा प्रमुख र शिक्षक संघसंस्थाका प्रतिनिधिहरु छलफल गरेर दरबन्दी एकीन गरि मात्रै शिक्षकको नियुक्ति र पदस्थापन गर्न आग्रह गरेको छ । आफुहरुको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।