१४ चैत, काठमाडौं – जेनजी आन्दोलनको छानबिन गर्ने काममा संलग्न जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरूको घरमा सुरक्षा सतर्कता बढाइएको छ।
गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आयोग गठन गरेको थियो। आयोगको नेतृत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गरेका थिए भने पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनी विशेषज्ञ विश्वेश्वर भण्डारी सदस्य थिए।
फागुन २४ गते आयोगले आफ्नो प्रतिवेदन सरकारमा बुझाइसकेको थियो। सो प्रतिवेदनको आधारमा शनिबार बिहान सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो।
उक्त पक्राउप्रति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता आक्रोशित भएका छन्। काठमाडौँसहित विभिन्न शहरमा प्रदर्शन र विरोधका कार्यक्रम आयोजना गरिएको छ।
प्रदर्शन र अस्थिरता बढ्ने सम्भावना देखिएपछि आयोगका अध्यक्ष कार्कीको गुण्डुस्थित निवासमा सुरक्षा कडा गरिएको छ। त्यस्तै, सदस्य शर्मा र भण्डारीको घरमा पनि सुरक्षाकर्मी खटाइएको छ। प्रहरीले यो कदम पदाधिकारीहरूको सुरक्षा सुनिश्चित गर्न उठाइएको जनाएको छ।

