वीरगञ्ज मेलामा युवक हत्या : संलग्न ‘दरिन्दे खुँखार’ समूहका ५ जना पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

वीरगञ्ज, १५ असोज।
पर्साको वीरगञ्जमा गहवामाई मेलामा भएको सामूहिक झगडाको क्रममा युवक शिवम् साह (गोल्डेन कानु)को ज्यान जाने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न प्रमुख व्यक्तिहरुको पहिचान भइसकेको जानकारी दिएको हो। प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकका अनुसार घटनामा प्रत्यक्ष संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान जारी छ।

पक्राउ परेकामध्ये वीरगञ्ज–२४ रामगढवाका गौतम पटेल, सुभांकर चौरसिया, अमिरी पटेल उर्फ करण पटेल, चन्दन चौरसिया र अमन पटवा रहेका छन्। घटनामा संलग्न भएको आशंकामा १० जनालाई पक्राउ गरिएको भए पनि निर्दोषलाई फस्न नदिने विषयमा प्रहरी गम्भीर रहेको एसपी पाठकले बताए।

उहाँले घटना बाहिर भनिएझैँ ‘ग्याङ फाइट’ नभएको प्रष्ट पार्दै २४ घण्टाभित्रै मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो। प्रारम्भिक अनुसन्धानले पुरानो रिस–प्रतिशोधका कारण शिवम् साहमाथि कुटपिट गरिएको र सोही क्रममा उनको मृत्यु भएको देखाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा संकलित प्रमाण, भिडियो फुटेज र तत्कालै पुगेको प्रहरी टोलीको सहयोगका आधारमा आरोपीलाई पक्राउ गरिएको हो। साहलाई मुक्का र बाँसको फट्काले प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

साहको पोष्टमार्टम रिपोर्ट अझै आउन बाँकी छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, सिडिआर विश्लेषणमार्फत अन्य संलग्न व्यक्तिहरु खोजी भइरहेका र कसैलाई पनि नछाडिने एसपी पाठकले बताए।

Leave a comment