१५ चैत,काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने स्पष्ट पारेका छन्।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने कार्यक्रमअन्तर्गत नेता–कार्यकर्ताहरु काठमाडौंस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए।
विरोधपत्र बुझ्दै प्रजिअ पौडेलले भने, “राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं। हाम्रो तटस्थता र पेशागत जिम्मेवारीअनुसार अगाडि बढ्छौं।”
यस क्रममा एमालेका एक नेताले विषय राजनीतिक मात्र नभई कानुनी पनि भएको बताएका थिए। तर प्रजिअ पौडेलले यसमा धेरै बहस नगर्ने बताए।
अध्यक्ष ओली पक्राउ परेपछि विभिन्न स्थानमा एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै आएका छन्। शनिबार माइतीघर–बिजुलीबजार क्षेत्रमा तोडफोड र आगजनीका घटना भएका थिए।
प्रजिअ पौडेलले प्रदर्शनका क्रममा भएका अवाञ्छित गतिविधिमा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे। “कानुनको सीमाभित्र हामी सबै बाँधिएका छौं,” उनले भने।
उनले सुरक्षाकर्मीलाई संयमित रहन निर्देशन दिइएको र प्रदर्शनकारीलाई पनि शान्तिपूर्ण रुपमा प्रस्तुत हुन आग्रह गरे।

