२७ माघ २०८२, मंगलबार | मुम्बई
पाकिस्तानले भारतसँग खेल बहिष्कार गर्ने अघिल्लो निर्णय फिर्ता लिँदै आईसीसी टी–२० विश्वकप २०२६ मा भारतविरुद्ध मैदान उत्रिने भएको छ। अब दुवै टोलीबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलका रूपमा आयोजना हुनेछ।
पाकिस्तान सरकारले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरूको आग्रह र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै राष्ट्रिय टोलीलाई भारतसँग खेल्न अनुमति दिएको जनाएको छ।
सरकारी स्रोतका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) तथा पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे विस्तृत जानकारी गराएका थिए। सो छलफलपछि सरकार सकारात्मक निष्कर्षमा पुगेको बताइएको छ।
बंगलादेश क्रिकेट बोर्डको औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्सलगायत सदस्य राष्ट्रहरूले समाधानका लागि पाकिस्तानको नेतृत्वदायी भूमिकाको अपेक्षा व्यक्त गर्दै पत्राचार गरेका थिए। ती सबै पक्षलाई ध्यानमा राखेर निर्णय लिइएको सरकारको भनाइ छ।
यसैबीच बीसीबी अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ। पाकिस्तानले बंगलादेशसँग क्रिकेट तथा कूटनीतिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत दोहोर्याएको छ।
पछिल्लो कूटनीतिक पहलअन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन वार्ता भएको थियो। सो वार्तामा श्रीलंकाली राष्ट्रपतिले जारी गतिरोध अन्त्य गर्न सकारात्मक निर्णय लिन आग्रह गरेका थिए।
यसअघि राजनीतिक र कूटनीतिक कारण देखाउँदै पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने संकेत दिएको थियो। तर पछिल्लो सहमति र अन्तर्राष्ट्रिय दबाबपछि पाकिस्तान आफ्नो निर्णयबाट पछि हटेको हो।

