इनिशा हत्या प्रकरणमा नयाँ मोड: सामूहिक बलात्कारको आरोपसहित चार जनाविरुद्ध मुद्दा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१६ चैत,सुर्खेत — जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले इनिशा विकको मृत्यु प्रकरणमा नयाँ निष्कर्ष निकाल्दै चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा अदालतमा मुद्दा दर्ता गरेको छ।

चैत ११ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि वकिल कार्यालयले चारै जना संलग्न रहेको ठहर गरेको हो। अभियोगपत्रमा घटना पूर्वयोजनाअनुसार गरिएको उल्लेख गरिएको छ।

यसअघि प्रहरीले भने एकल करणीपछि मृत्यु भएको निष्कर्ष निकालेको थियो। प्रहरीका अनुसार प्रेमी भनिएका एक किशोरले जबरजस्ती करणी गर्दा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको थियो।

तर वकिल कार्यालयले उपलब्ध प्रमाण, पोस्टमार्टम रिपोर्ट, सिसिटिभी फुटेज तथा बयानका आधारमा चारै जना घटनास्थलमा उपस्थित भई सामूहिक रूपमा अपराध गरेको दाबी गरेको छ।

घटना फागुन २३ गते वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा भएको थियो, जहाँ १६ वर्षीया इनिशा मृत अवस्थामा फेला परेकी थिइन्।

अनुसन्धानका क्रममा ३१ जनासँग बयान लिइएको छ भने १६३ वटा प्रमाण अदालतमा पेश गरिएको जनाइएको छ।

Leave a Comment