काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन प्रकरणमा अनुसन्धान सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१७ चैत,काठमाडौ-काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले मंगलबार बिहान काठमाडौँको सुविधानगरबाट पक्राउ गरेको छ। उनलाई काठमाडौँ अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी स्रोतका अनुसार, रिजालमाथि गत भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा भएको हिंसात्मक घटनासँग सम्बन्धित मुद्दा छ। सो समयमा उनी काठमाडौँका सीडीओका रूपमा कार्यरत थिए। आन्दोलनका क्रममा नागरिकको ज्यान जानुमा लापरबाही भएको आरोप उनको विरोधमा छ।

जेनजी आन्दोलनबारे छानबिन गर्न गठन गरिएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले रिजाललाई दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। आयोगले उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान गर्न सुझाव दिएको थियो।

विशेषगरी, भदौ २३ गते बानेश्वर क्षेत्रमा १९ जना किशोरको मृत्यु हुने गरी गोली चलाइएको विषयमा रिजालको भूमिका विवादित बनेको थियो। उक्त घटनापछि उनलाई आलोचना भइरहेको थियो।

यसै घटनासँग सम्बन्धित रूपमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकेको छ। आयोगले उनीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो। तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि पक्राउ गर्न सिफारिस भए पनि उनी हालसम्म नियन्त्रणमा छैनन्।

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। तर, सुरक्षाकर्मीमाथि कारबाहीको विषयमा थप अध्ययनपछि मात्र निर्णय हुने नीति राखिएको छ।

पक्राउ परेका रिजालसँगै अनुसन्धान प्रक्रिया अझै जारी रहने प्रहरी स्रोतले जनाएको छ।

Leave a Comment