ट्रान्सफर्मर बिग्रिएपछि करिब ९०० घरधुरी प्रभावित, सेवाग्राही आक्रोशित

बिश्व खबर
पढ्न लाग्ने समय : 3 मिनेट

१९ जेठ,बारा: बाराको कलैया उपमहानगरपालिका वडा नम्बर-७ मा रहेको दुर्गा मावि परिसरमा राखिएको ट्रान्सफर्मर आईतबार राति ९:३० बजे अचानक बिग्रिएपछि करिब ९०० घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्।

नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र कलैयाबाट प्रवाहित हुने विद्युत् सेवा अवरुद्ध भएपछि स्थानीय सेवाग्राहीहरू अत्यधिक गर्मी र असुविधाका कारण चर्को आक्रोश व्यक्त गरिरहेका छन्।

विद्युत् सेवा अवरुद्ध भएको जानकारी पाएपछि आईतवार राती मर्मतका लागि प्राधिकरणका कर्मचारीहरू घटनास्थल पुगे पनि आज राति मर्मत गर्न सकिने अवस्था नरहेको भन्दै मर्मत कार्य भोलिसम्म स्थगन गरिएको जानकारी दिएका थिए।

विद्युत् सेवा पुनः सञ्चालनको माग गर्दै आक्रोशित भीडले वितरण केन्द्रको सरकारी गाडीका चारवटै चक्काको हावा फुस्काइदिएको स्थानीयहरूले जानकारी दिएका छन्। सेवाग्राही र कर्मचारीबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरी प्रशासनको समेत उपस्थिति आवश्यक देखिएको थियो।

स्थानिय सेवाग्राही हिमेश शर्माले भने, “हामी सेवाग्राही हौं, सेवा लिन्छौं,पैसा तिर्छौं पनि। सेवा पाउनु हाम्रो अधिकार हो र समयमै सेवा दिनु तपाईहरूको कर्तव्य हो। तपाईहरूको सुरझाको जिम्मा प्रहरी प्रशाहनको हो ।प्रहरी प्रशासनसँग समन्वय गर्नुहोस्।” उनले सुरक्षाको जिम्मा प्रहरीको भएको बताउँदै तत्काल सेवा सञ्चालन गर्न जोडदार माग गरेका थिए।

विद्युत् कार्यालय प्रमुखको स्पष्टीकरण

वितरण केन्द्र कलैयाका प्रमुखसँग सम्पर्क गर्दा उनले ट्रान्सफर्मर मर्मतको लागि सुरक्षाको अभाव भएको कारण देखाउँदै तत्काल सेवा सुचारू गर्न नसकिने बताएका थिए। उनका अनुसार अघिल्लो राति भएको कर्मचारीमाथिको व्यवहारका कारण सोमबार मर्मत कार्यमा कर्मचारीहरू अघि नबढेको र उनीहरूले समेत असहयोग गर्न थालेको जानकारी दिएका थिए।

एक जना कर्मचारीका अनुसार, “हामी जब मर्मतका लागि जान्छौं, सेवाग्राहीहरूबाट दुव्र्यवहार सहनुपर्छ। यस्तो अवस्थामा कसरी सुरक्षित भएर काम गर्ने?” उनले प्रमुखको निर्देशनअनुसार सोमबार पनि सेवा अवरोध गरिने बताएका थिए।

फेटामा पनि विद्युत् सेवा अवरुद्ध

यस्तै, आईतबार राति बाराकै फेटा क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध भएको थियो। स्थानीय नेता तथा कार्यकर्ताहरू वितरण केन्द्रमा पुगेर तत्काल सेवा सुचारू गर्न माग गर्दै दबाब दिएका थिए। तर, प्राधिकरणका प्रमुखले विभिन्न प्राविधिक र सुरक्षासम्बन्धी कारण देखाउँदै सेवा प्रवाहमा ढिलाइ भएको स्पष्ट पारेका छन्। जिल्लाको प्रहरी कार्यालयबाट करिब १.५ किलोमिटर दूरीमा रहेको ट्रान्सफर्मर मर्मतका लागि कुनै सक्रियता नदेखाइएकोमा सेवाग्राहीहरूले असन्तुष्टि जनाएका छन्।

प्रशासनको मौनता र भविष्यप्रति चिन्ता

स्थानीय बासिन्दाहरूले विद्युत् प्राधिकरणको ढिलासुस्ती, प्रहरी प्रशासनको निष्क्रियता र गर्मीको समयमा बारम्बार हुने यस्तो समस्या प्रति गम्भीर चासो व्यक्त गरेका छन्। उनीहरूका अनुसार, विद्युत् प्राधिकरणले नियमितरूपमा ट्रान्सफर्मरको निगरानी र मर्मतसम्भारमा ध्यान नदिँदा यस्ता समस्या दोहोरिरहेको छ।

“हामी पटकपटक यस्तै समस्यामा पर्नुपरेको छ। साना साना समस्या हुँदा पनि कर्मचारीहरू तुरुन्त नआउने, काम नगर्ने, अनि हामीले बोल्दा दुव्र्यवहार गर्छन्,” एक सेवाग्राहीले बताए।

बाढी, गर्मी, र चिसो मौसममा अझै बढी निर्भरता रहने विद्युत् सेवामा यस्ता किसिमका अवरोध तथा सरकारी लापरबाहीले सर्वसाधारणको जनजीवनमा गम्भीर असर पारिरहेको छ। सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र समयमै समाधानको लागि नेपाल विद्युत् प्राधिकरण, स्थानीय प्रशासन र सेवाग्राहीहरूबीच प्रभावकारी समन्वयको खाँचो देखिएको छ। यदि यस्तो अवस्था जारी रह्यो भने जनआक्रोश अझ चर्किन सक्ने सम्भावना प्रवल छ।

Leave a Comment