स्वर्ण युग’तर्फ अमेरिका–जापान साझेदारी : ट्रम्प र ताकाइचीबीच समझदारी

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बुधबार, ११ कात्तिक २०८२
टोकियो / एजेन्सी
जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार टोकियोमा भएको भेटवार्तापछि दुवै देशले आपसी सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’तर्फ लैजाने प्रतिबद्धता जनाएका छन्।

महत्त्वपूर्ण खनिज सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुअघि दुवै नेताबीच व्यापार, सुरक्षा र रणनीतिक सहकार्यका विविध विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व समाधान र शान्ति स्थापनामा खेल्ने भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको बताइएको छ। ह्वाइट हाउसका अनुसार ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै सम्मान व्यक्त गरिन्।

ट्रम्पले पनि जापानलाई अमेरिकाको ‘सबैभन्दा बलियो सहयोगी’ बताउँदै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए।

“हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ, र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो,” ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने।

भेटवार्ताको क्रममा दुवै देशले दुर्लभ पृथ्वी र अन्य महत्त्वपूर्ण खनिजको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्प प्रशासनले घोषणा गरेका १०० प्रतिशत करको प्रतिक्रियास्वरूप आएको हो।

ट्रम्पले जापानी खेलाडी शोहेई ओहतानी र यामामोटोको वल्र्ड सिरिज खेल हेर्दा ढिलो भएको भन्दै ताकाइचीसँग हाँस्यात्मक शैलीमा क्षमायाचना पनि गरे।

एसिया भ्रमणको दोस्रो चरणअन्तर्गत जापान पुगेका ट्रम्पले यसअघि मलेसिया भ्रमण सम्पन्न गरिसकेका छन्। उनले अब दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने र त्यसपछि उत्तर कोरियाली नेता किम जोङ–उनसँग सम्भावित भेटबारे तयारी भइरहेको बताएका छन्।

विश्लेषकहरूले टोकियो भेटले अमेरिका–जापानबीचको व्यापार तनाव घटाउने र एसियाली क्षेत्रमा नयाँ रणनीतिक सन्तुलन ल्याउने अपेक्षा गरेका छन्।

Leave a comment