कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, चैत १८ — सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि उनी स्वतः उक्त पदमा पुगेकी हुन्।

नेपालको संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही प्रावधानअनुसार मल्लले जिम्मेवारी ग्रहण गरेकी हुन्।

बरिष्ठ अधिवक्ता समेत रहेकी मल्ल २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्। करिब एक दशकको कार्यकालमा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दामा महत्वपूर्ण नजिर स्थापित गरेकी छन्।

नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन। संवैधानिक परिषद् पूर्ण रूपमा सक्रिय नभएका कारण सिफारिस प्रक्रिया रोकिएको हो। सभामुख, उपसभामुख र प्रमुख विपक्षी दलका नेताको अभावले परिषद् अपूर्ण रहेकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भएको देखिएको छ।

संविधानअनुसार प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्ले नाम सिफारिस गर्नुपर्ने, त्यसपछि संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिबाट नियुक्ति हुने व्यवस्था छ। यी सबै प्रक्रिया पूरा गर्न कम्तिमा एक महिना लाग्ने अनुमान गरिएको छ।

सपना प्रधान मल्लले त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक, दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर तथा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेकी छन्। उनी संविधानसभा सदस्यका रूपमा समेत काम गरिसकेकी छन् भने अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार र कानुनी क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिसकेकी छन्।

 

Leave a Comment