कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ । नेपाली कांग्रेसका पाँच जना प्रदेश सभापति र ४७ जना जिल्ला सभापतिले विशेष महाधिवेशनको विपक्षमा उभिँदै संयुक्त विज्ञप्ति जारी गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा उनीहरूले पार्टी अहिले निर्वाचन तयारीमा केन्द्रित हुनुपर्ने बताएका हुन्।

विज्ञप्तिमा संविधानको संरक्षण र मुलुकलाई वर्तमान राजनीतिक अवस्थाबाट निकास दिन नेपाली कांग्रेसले थप जिम्मेवारीका साथ आगामी निर्वाचनमा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख छ। “यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला तथा समारोहमा अल्मलिनुभन्दा संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि जिम्मेवार भई फागुन २१ गतेको निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

सभापतिहरूले १८ पुसमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १५औँ नियमित महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको बताएका छन्। नियमित महाधिवेशनकै प्रक्रिया अघि बढिरहेको हुँदा विशेष महाधिवेशनको औचित्य नदेखिएको उनीहरूको निष्कर्ष छ।

विज्ञप्तिमा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहमा मात्र निहित रहेको वैधानिक व्यवस्था स्मरण गराउँदै हाल त्यसका लागि उपयुक्त वातावरणसमेत नरहेको उल्लेख गरिएको छ। साथै, पार्टी विभाजनको सम्भावनाबाट जोगिन केन्द्रीय कार्यसमितिले अझै संवाद र वार्तामार्फत् पार्टी एकता मजबुत बनाउन पहल गर्नुपर्नेमा जोड दिइएको छ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने पाँच जना प्रदेश सभापतिले यसअघि केन्द्रीय कार्यसमिति बैठकमा समेत विशेष महाधिवेशनको औचित्य नभएको भन्दै लिखित धारणा पेश गरिसकेका थिए। उनीहरूसँगै गण्डकी र लुम्बिनी प्रदेशका उपसभापतिहरूले पनि विशेष महाधिवेशनको विपक्षमा आफ्नो समर्थन जनाएका छन्।


Leave a Comment