बिचौलियाको आरोपमा सुर्खेतमा १६ जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, चैत १९ — सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

डीएसपी मोहनजंग बुढथापाका अनुसार सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण गरिदिने तथा जग्गा नामसारीलगायत भू-सेवा सम्बन्धी काम गरिदिने भन्दै रकम असुल्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरी निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० महिला गरी कुल १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार यातायात व्यवस्था कार्यालयबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–१ का ३६ वर्षीय दीपकबहादुर विक, वीरेन्द्रनगर–३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वीरेन्द्रनगर–१२ का ३३ वर्षीय प्रदीप खड्का, वीरेन्द्रनगर–५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वीरेन्द्रनगर–१० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र लेकवेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई रहेका छन्।

यस्तै, मालपोत कार्यालयबाट पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर–३ की २५ वर्षीया लक्ष्मी शाही, ३४ वर्षीया पार्वती योगी, वीरेन्द्रनगर–५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वीरेन्द्रनगर–६ की २३ वर्षीया सम्झना योगी, ३८ वर्षीया निर्मला योगी, वीरेन्द्रनगर–११ की १८ वर्षीया रोशनी शाही, ३१ वर्षीया दुर्गा शाही, २० वर्षीया गीता सुनार, ३२ वर्षीया रोशमी तिवारी र वीरेन्द्रनगर–१२ की ३८ वर्षीया कुसुम बुढाक्षेत्री रहेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave a Comment