साइकल चढेर संसद् भवन पुगे रास्वपा सांसद आशिष गजुरेल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेल साइकल चढेर संघीय संसद् भवन पुगेका छन् ।

निर्वाचनपछिको पहिलो संसद् बैठकमा सहभागी हुन उनी दौरा–सुरुवाल लगाएर माउन्टेन बाइक चढी सिंहदरबारस्थित संसद् भवन पुगेका हुन् । उनको साइकल यात्रा सार्वजनिक भएपछि यसले चर्चा पाएको छ ।

सार्वजनिक यातायात पूर्वाधार विज्ञसमेत रहेका गजुरेलले निजी सवारी साधनको प्रयोग घटाउँदै वातावरण संरक्षण र सार्वजनिक यातायात प्रवर्द्धन गर्ने सन्देश दिन यस्तो कदम चालेको बताएका छन् ।

उनले सम्भव भएसम्म हिँड्न र नभए सार्वजनिक यातायात प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनका अनुसार साइकल तथा सार्वजनिक यातायातको प्रयोग बढाउँदा इन्धनमा खर्च हुने रकम बचत हुने र प्रदूषण पनि घट्नेछ ।

‘यी विषयमा पहिले सडकबाट आवाज उठाउँथेँ, अब संसदबाट सन्देश दिन चाहन्छु,’ गजुरेलले भने ।

सिन्धुली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित गजुरेलले दिगो र वातावरणमैत्री यातायात प्रणालीको पक्षमा निरन्तर वकालत गर्दै आएका छन् ।

Leave a Comment