काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट प्रहरीले उनको कार्यालयमा छापा मारेको छ।
बिहीबार बिहान ललितपुरको झम्सीखेलस्थित ठाडोढुंगामा रहेको जनआस्था साप्ताहिकको कार्यालयमा प्रहरीले छापा मारेको हो।
काठमाडौं प्रहरी प्रमुख एसएसपी डिल्ली घिमिरेले कार्यालयमा केही कागजात हुन सक्ने भएकाले छापा मारिएको जानकारी दिएका छन्।
श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित निवास नजिकबाट पक्राउ गरेको थियो। व्यक्तिगत गोपनीयता हननसम्बन्धी कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
श्रेष्ठलाई पक्राउ गर्नुअघि काठमाडौं प्रहरी परिसरले अदालतबाट पक्राउ पुर्जी लिएको थियो।
जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक रहेका श्रेष्ठमाथि रास्वपाका सांसद अमरकान्त चौधरी र एक युवतीबीच चुम्बन भइरहेको तस्बिर सार्वजनिक गरेको आरोप छ।
उक्त तस्बिर सार्वजनिक भएपछि ती युवतीले आफ्नो व्यक्तिगत गोपनीयता हनन भएको भन्दै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन्।
श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्षसमेत हुन्।
प्रहरीले कार्यालयमा छापा मारेर आवश्यक कागजात तथा सामग्रीको खोजी गरेको जनाएको छ। छापाका क्रममा के–कस्ता सामग्री बरामद भए भन्नेबारे भने प्रहरीले विस्तृत जानकारी दिएको छैन।
किशोर श्रेष्ठ पक्राउको भोलिपल्टै जनआस्था कार्यालयमा प्रहरीको छापा
Leave a Comment
Leave a Comment

