पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु, दुई घाइते र १० जना बेपत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

रोल्पा — अविरल वर्षापछि आएको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घटनामा १० जना बेपत्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति करिब ८ः४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरेको हो। पहिरोमा मानिससँगै चौपायासमेत पुरिएको प्रहरीले जनाएको छ।
घटनाबारे राति करिब ९ः३० बजे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा राति ११ः५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनीहरूलाई उपचारका लागि अस्पताल पठाउने तयारी गरिएको छ।
पहिरोमा पुरिएका १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरलाई भने मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहित थप प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री पनि घटनास्थल पुगेका छन्।
सञ्चार सम्पर्क प्रभावकारी हुन नसकेका कारण घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ।

Leave a Comment