इरान द्वन्द्व २६औँ दिनमा : युद्ध चर्कँदै, वार्ताको प्रयास पनि जारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ११ चैत । अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्व २६औँ दिनमा प्रवेश गर्दा अवस्था झन् जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेको छ भने अर्कोतर्फ वार्ताको प्रयास पनि सँगसँगै अघि बढिरहेको देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन आक्रमण नगर्ने संकेत दिए पनि इजरायलले इरानमाथि आक्रमण जारी राखेको छ । त्यसको जवाफमा इरानले पनि प्रतिआक्रमण गरिरहेको छ, जसले पश्चिम एशियाको अवस्था थप तनावपूर्ण बनेको छ ।

अमेरिकी रक्षा विज्ञ तथा ह्वाइट हाउसका पूर्व सल्लाहकार रोबर्ट पेपले वर्तमान अवस्था ‘एस्केलेसन ट्रयाप’तर्फ गएको बताएका छन् । उनका अनुसार साना आक्रमणबाट लक्ष्य हासिल नभएपछि युद्ध विस्तार हुँदै जान्छ र यसले ठूलो द्वन्द्व निम्त्याउन सक्छ ।

उनले युद्ध बढे होर्मुज जलडमरूमध्य प्रभावित हुन सक्ने र यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा इजरायलको सैन्य गतिविधि नियन्त्रण गर्नुपर्ने र त्यसका लागि ट्रम्पको भूमिका निर्णायक हुने उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघमा इजरायलका राजदूत ड्यानी ड्याननले अमेरिका–इरान वार्तामा इजरायल सहभागी नभएको स्पष्ट पारेका छन् । इजरायलको मुख्य उद्देश्य इरानलाई परमाणु क्षमता विकास गर्नबाट रोक्नु रहेको उनले बताएका छन् ।

द्वन्द्वका कारण ठूलो मानवीय क्षति भएको छ । हालसम्म इरानमा करिब १,५०० जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी घाइते भएका छन् । मृतकमध्ये बालबालिका, महिला र वृद्ध समेत रहेका छन् ।

यसबीच ट्रम्पले इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव पठाएको दाबी गरेका छन् । उक्त प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्‍याइएको बताइएको छ । अमेरिका क्षेत्र वरपर आफ्ना सैनिक र सैन्य उपकरण पनि बढाइरहेको छ ।

ट्रम्पले आवश्यकता अनुसार वार्ता र सैन्य कारबाही दुवै विकल्प खुला राखेको संकेत दिएका छन् । उनले इरान कमजोर भएको दाबी गर्दै वार्ता असफल भए थप आक्रमण हुन सक्ने चेतावनी समेत दिएका छन् ।

उता इरान र सम्बद्ध समूहहरूले विभिन्न स्थानमा ड्रोन र क्षेप्यास्त्र आक्रमण जारी राखेका छन् । तेहरानसहित विभिन्न क्षेत्रमा विस्फोटका घटना भइरहेका छन् भने खाडी क्षेत्रका देशहरू पनि प्रभावित भइरहेका छन् ।

समग्रमा हेर्दा, युद्ध र कूटनीतिक प्रयास सँगसँगै अघि बढिरहेको यो द्वन्द्व कहिले र कसरी अन्त्य हुन्छ भन्ने अझै अनिश्चित बनेको छ ।

Leave a Comment