३ मंसिर,काठमाडौ
केन्द्रिय सुरक्षा समितिले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रत्येक प्रदेशमा ‘प्रदेशस्तरीय निर्वाचन सुरक्षा कमान्ड’ तथा ‘निर्वाचन सेल’ गठन गर्ने निर्णय गरेको छ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले मुलुकको मौजूदा सुरक्षा अवस्था, चारै सुरक्षा निकायबाट प्रस्तुत चुनौतीहरू, त्यससम्बन्धी छलफल तथा समिक्षाका आधारमा आवश्यक तयारी अघि बढाउने निर्णय गरेको हो।
फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन विगतका निर्वाचनबाट प्राप्त अनुभव र सिकाइलाई समेटेर तयार पारिएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ हालै सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूमा कार्यान्वयनका लागि पठाइएको बैठकले जनाएको छ।
सो योजनाअनुसार प्रदेश प्रमुख सचिवको समन्वयमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिला मन्त्रालयका सचिव तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समावेश गरी प्रदेश कमाण्ड पोष्ट र निर्वाचन सेल सञ्चालन गरिनेछ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सबै प्रदेश प्रमुख सचिवलाई आवश्यक निर्देशन पठाइने समितिले निर्णय गरेको छ।
त्यसैगरी, वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सबै सुरक्षा निकायहरूबीच घनिष्ट समन्वय कायम गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।



Leave a Reply