एमालेले बादलको अभिव्यक्ति सच्यायो, सुरक्षा निकाय र अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध मित्रवत् रहेको स्पष्ट

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २० चैत । नेकपा एमालेले सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तर्राष्ट्रिय समुदायसँग पार्टीको सम्बन्ध पूर्ववत् तथा मित्रवत् रहेको स्पष्ट पारेको छ।

शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो। बैठकले पछिल्लो समय पार्टीका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे गम्भीर छलफल गर्दै आधिकारिक धारणा सार्वजनिक गरेको जनाएको छ।

बादलले प्रतिनिधिसभा बैठकमा दिएको सम्बोधनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई ‘तिलस्मी’ भन्दै नेपाली सेना, कर्मचारीतन्त्र तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिकामाथि प्रश्न उठाएका थिए। उक्त अभिव्यक्तिप्रति पार्टीभित्रै पनि असन्तुष्टि देखिएको थियो।

सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति एमालेको सम्बन्ध सकारात्मक र मित्रवत् रहेको तथा भविष्यमा अझ सुदृढ बनाइने उल्लेख गरिएको छ।

बैठकले प्रतिनिधिसभा निर्वाचनमार्फत अभिव्यक्त जनमतलाई सम्मान गर्दै निर्वाचित सबै जनप्रतिनिधिलाई बधाई दिएको छ। साथै भारी बहुमतका साथ सरकार गठन गर्न सफल प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रिपरिषद्लाई पनि बधाई ज्ञापन गरिएको छ।

त्यसैगरी बैठकले साइबर आक्रमणको निन्दा गर्दै संलग्नमाथि कारबाही गर्न माग गरेको छ। विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरिएको छ। साथै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै दिने निर्णयप्रति पनि आपत्ति जनाइएको छ।

बैठकले पश्चिम एसियामा जारी हिंसाका कारण नेपाली नागरिक असुरक्षित बनेको भन्दै उनीहरूको सुरक्षा सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेलाई सहज व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

 

Leave a Comment