एनपिएलमा क्यानलाई २५ करोडभन्दा बढी नाफा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २४ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) बाट ४७ करोडभन्दा बढी आम्दानी गर्दै २५ करोडभन्दा बढी नाफा कमाएको छ।

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले एनपिएलको दोस्रो संस्करणको आयव्यय अनुमोदन गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो। बैठकले सन् २०२६ को वार्षिक कार्यक्रम तथा बजेट पनि पारित गरेको छ।

क्यानका अनुसार एनपिएलबाट कुल ४७ करोड ३६ लाख ५५९ रुपैयाँ ६ पैसा आम्दानी भएको छ भने २१ करोड ९६ लाख ५ हजार १२३ रुपैयाँ खर्च भएको छ। यसअनुसार लिगबाट २५ करोड ३९ लाख रुपैयाँ नाफा भएको छ।

उक्त नाफामध्ये आधा रकम लिगमा सहभागी आठ टोलीलाई बाँडफाँट गरिएको क्यानले जनाएको छ।

यसैबीच, क्यानको साधारण सभा वैशाख २७ र २८ गते विराटनगरमा गर्ने निर्णय गरिएको छ। चारवर्षे कार्यकाल सकिएका २० जिल्ला क्रिकेट सङ्घको कार्यकाल जेठ मसान्तसम्म थप गरिएको छ भने ती सङ्घहरूले २०८३ जेठभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेछ।

महिला क्रिकेट विकासका लागि पनि लगानी गर्ने निर्णय गरिएको छ। आईसीसीको निर्देशनअनुसार क्यानले वार्षिक बजेटबाट ५ लाख अमेरिकी डलर लगानी गर्नेछ।

त्यसैगरी, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको करार अवधि थप गर्न र तल्लो मूलपानी क्रिकेट मैदान क्यानलाई हस्तान्तरण गर्न सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ।

Leave a Comment