ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार, अस्पतालमै राख्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

 २६ चैत २०८२, बिहीबार,काठमाडौ-नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने तयारी गरिएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, “अहिले स्वास्थ्य अवस्था स्थिर छ। हामीले शल्यक्रियाको तयारी सोमबारका लागि योजना बनाएका छौं। सायद त्यसअघि डिस्चार्ज हुँदैन,” उनले अनलाइनखबरसँग भने। शल्यक्रियाबारे ओलीसँग छलफलपछि निर्णय लिइने चिकित्सकले बताए।

ओलीलाई १४ चैतमा गिरफ्तार गरिएको थियो। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा तत्कालीन गृहमन्त्री सुदन गुरुङले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए। स्वास्थ्य परीक्षणपछि उनलाई त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। प्रारम्भिक परीक्षणमा मुटुको धड्कनामा समस्या देखिएको थियो र उनलाई एनेक्स–१ को बेड नम्बर ५०१ मा राखिएको थियो।

ओलीकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको मुद्दा सर्वोच्च अदालतमा उठाएकी थिइन्। सर्वोच्च अदालतले २६ चैतभित्र ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान टुंग्याउन आदेश दिएको थियो। यदि अनुसन्धान समयमै टुंगिन नसक्ने भएमा शर्तसहित छाड्ने निर्देशन पनि सर्वोच्चले दिएको थियो।

ओली नियन्त्रणमुक्त भएपछि उनकी पत्नी राधिका शाक्य अस्पताल पुगेकी छन्।

Leave a Comment