एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना : प्रेस काउन्सिल नेपाल

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२७ श्रावण,काठमाडौ : प्रेस काउन्सिल नेपालले गत वर्षको साउन १ गतेदेखि यस वर्षको असार मसान्तसम्म एक वर्षको अवधिमा मुलुकभर ९४ वटा प्रेस स्वतन्त्रता हननका घटना भएको जनाएको छ।

काउन्सिलका अनुसार, यी घटनामध्ये शारीरिक दुर्व्यवहार ३५, खबर/प्रसारण रोक ३५, धम्की/अशुभ संकेत २९, समाचार सामग्री जफत २३, पत्रकार हत्या १, जातीय विभेदजन्य घटना १ रहेका छन्। साथै, २५ वटा अन्य प्रकारका हननका घटनासमेत दर्ता भएका छन्।

उल्लेखनीय रूपमा, घटनामा संलग्न २१ महिला र १०६ पुरुष पत्रकार प्रभावित भएको काउन्सिलले जनाएको छ। प्रभावित पत्रकारमध्ये २ जना विदेशी पनि रहेका छन्।

प्रदेशगत विवरण अनुसार, कोशी प्रदेशमा १९, मधेशमा ५५, बागमतीमा ३५, गण्डकीमा ७, लुम्बिनीमा ९, कर्णालीमा ५ र सुदूरपश्चिममा १९ वटा घटना भएका छन्।

काउन्सिलका वरिष्ठ प्रशासनिक अधिकृत बिपिन खनालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान र सुरक्षा सबै पक्षको दायित्व भएको उल्लेख गर्दै, पत्रकारमाथि भएका हमलाप्रति गम्भीर ध्यानाकर्षण गरिएको छ।

Leave a Comment