उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको ‘सरप्राइज’ समर्थन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ चैत २०८२, बिहीबार  काठमाडौं-नयाँ प्रतिनिधिसभा गठनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम संस्कृति पार्टीलाई उपसभामुख पदमा समर्थन गर्ने निर्णय गरेको छ।

संसदमा पहिलोपटक प्रवेश गरेको श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर उपसभामुख बन्ने लगभग निश्चित भएको छ। रास्वपाको समर्थन पाएपछि उनको पक्षमा दुई तिहाइभन्दा बढी मत पुग्ने देखिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले नयाँ चुनावपछि परिवर्तनकारी शक्तिहरूबीच सहकार्य गर्ने जनादेशअनुसार श्रम संस्कृति पार्टीलाई समर्थन गरिएको बताएका छन्।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने भएकाले रास्वपाले कसलाई समर्थन गर्ने भन्ने विषयमा श्रम संस्कृति र राप्रपाबीच छलफल चलिरहेको थियो।

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले रास्वपाबाट समर्थनको आश्वासन पाएको दाबी गरेका छन्। तर अन्तिम समयमा रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेपछि राप्रपा असन्तुष्ट बनेको छ।

उम्मेदवारी दर्ताका क्रममा राप्रपाले सरस्वती लामाको नाम अघि सारेको थियो भने श्रम संस्कृति पार्टीले रुबीकुमारी ठाकुरलाई उम्मेदवार बनाएको थियो।

अब रास्वपा र श्रम संस्कृति पार्टीको संयुक्त समर्थनका आधारमा प्रतिनिधिसभामा दुई तिहाइभन्दा बढी मत पुग्ने भएकाले ठाकुर उपसभामुख बन्ने लगभग निश्चित भएको छ।

Leave a Comment